बन्द, हड्ताल नगर्न र बिदा नबस्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

बन्द, हड्ताल नगर्न र बिदा नबस्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

२८२ पटक पढिएको

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर र स्वास्थ्यकर्मीलाई बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिएको छ । बर्षातको मौसम भएकोले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमण हुने हुँदा देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मीलाइ आन्दोलन नगर्न र बिदा नबस्ने निर्देशन मन्त्रालयले बिहीबार देशभरका स्वास्थ्य संस्थामा पठाएको हो । मन्त्रालयको निर्देशन नमानेर बिदामा बस्ने, बन्द र हड्तालमा उत्रिने गरेमा कारबाही हुने पनि निर्देशन मार्फत स्पष्ट पारिएको छ ।

उल्लेखित क्रियाकलाप गरेको/गराइएको पाइएमा अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने पनि निर्देशनमा उल्लेख छ । बर्षातको मौसम भएको कारण अस्पतालहरुमा बिरामीको चाप पनि बढिरहेको, बाढी, पहिरो र सम्भावित प्राकृतिक प्रकोपको जोखिम रहेकोले अस्पतालको सेवा प्रभावित नपार्न चिकित्सक र स्वास्थ्यकर्मीलाइ मन्त्रालयले निर्देशन दिएको हो ।

जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् । डा केसीको अनसन समर्थन गर्न आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको आन्दोलन गर्ने चेतावनी डाक्टर र स्वास्थ्यकर्मीका संगठनले दिएका छन् ।