अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन

अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन

१८९ पटक पढिएको

चिकित्सा शिक्षा सुधारको मागसहित अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा पनि प्रदर्शन भएको छ । जुम्ला पुगेर १७ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य नाजुक बन्दै गइरहेको अवस्थामा उनको समर्थनमा तनहुँबासीले प्रदर्शन गरेका हुन् ।

सोमबार गोविन्द केसीको पक्षमा सरकारलाई दबाब दिन तनहुँका युवायुवतीहरु प्रदर्शनमा उत्रिए हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्ट द्वारा आयोजित मिस क्विन तनहुँ २०१८ मा सहभागी प्रतियोगीहरु र आयोजक समेत उक्त प्रदर्शनमा सहभागीता जनाएका थिए ।

विवेकशिल साझा पार्टीका तनहुँ सम्पर्क व्यक्ति सागर घिमिरेले सो अवसरमा कविता समेत बाचन गरेका थिए । दुर्गम क्षेत्रका जनताले पनि समान र स्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भनेर डा. केसी आन्दोलनमा होमिएकाले आफ्नो समर्थन रहेको तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता मगरले बताइन ।

डा. केसीको आन्दोलन स्वास्थ्य सेवाको सुधारमा केन्द्रित रहेकाले सर्वसाधारणको साथ र सहयोगको खाँचो रहेको कार्यक्रमका संयोजक सागर घिमिरेले बताए। ‘डा. गोविन्द केसीले गरिब आमा र छोराछोरीले बाँच्न पाउनुपर्छ भनेर आवाज उठाउनुभएको छ, त्यसैले उहाँको आन्दोलनमा हाम्रो समर्थन छ,’ उनले भने। डा. केसीको स्वास्थ्य बिग्रँदै गएकाले उनको जीवनरक्षा निम्ति दबाब सिर्जना गर्न यो विरोध कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिने उनले बताए ।