सडक विस्तार गर्दा भत्काइयो विद्यालय

सडक विस्तार गर्दा भत्काइयो विद्यालय

१८२ पटक पढिएको

जनकपुर — सडक विस्तारका क्रममा विकल्पसमेत नदिई विद्यालय भवन डोजरले भत्काइदिएपछि जनकपुरमा ६ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

सडक विस्तारका क्रममा भवन भत्काइएपछि खुल्ला स्थानमा पढ्दै धनुषाको जनकपुर उपमहानगरपालिका–२१ स्थित राजर्षी जनक माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिर : कान्तिपुर

धनुषाको जनकपुर उपमहानगरपालिका–२१ कुर्थास्थित राजर्षी जनक माध्यमिक विद्यालयको कम्पाउन्डसहितको भवन भत्काइएको हो । सडक छेउमा रहेको विद्यालयको भवन भत्किएपछि कक्षाकोठा अभावमा खुला जीर्ण भवनमा पठनपाठन भइरहेको छ । विद्यालयका प्रधान अध्यापक वीरेन्द्रप्रसाद यादवले विद्यार्थी र शिक्षकलाई पढने–पढाउने वातावरण बिग्रिएको बताए ।

‘सडकमा गुड्ने सवारी साधनको होहल्ला, धूलोधूँवा, फोहोरमैला हावाले सीधै कक्षाकोठामा ल्याइदिन्छन् र प्रदूषणले शिक्षक–विद्यार्थीहरू बिरामी हुने गरेका छन्,’ शिक्षिका बन्दना वर्माले कान्तिपुरसित भनिन्, ‘भत्किएको भवनमा पठनपाठन गराउनु पर्दा असहज भइरहेको छ ।’ उनले विद्यार्थीहरू धूँवाधूलो र फोहोरले शिक्षक बालबालिकालाई रूघाखोकी, ज्वरो, घाँटी दुख्ने बिरामी हुने गरेको बताइन् । विद्यालयको ६ कोठे भवन वैकल्पिक व्यवस्थाबिना भत्काइएपछि विद्यार्थी, शिक्षक, अभिभावक वडा कार्यालयविरुद्ध आक्रोसित छन् ।

शिशुदेखि कक्षा १२ सम्म पढाइ हुने धनुषाकै पुरानो यो विद्यालयको भवन वडा २१ का अध्यक्ष रामेश्वर महासेठ सुढीको निर्देशनमा भत्काइएको हो । स्थानीय बासिन्दाले २०१७ सालमा स्थापना गरेको यो विद्यालयमा यसवर्ष हालसम्म ६ सय जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । भर्ना हुनेक्रम जारी छ । सडक विस्तारका लागि विद्यालय भवन आफंै भत्काउन अनुरोधसहित प्रधानाध्यापकलाई दिएको निर्देशन बेवास्ता गरेपछि वडा कार्यालयले बाध्य भएर डोजर लगाएर भत्काउनु परेको वडाध्यक्ष रामेश्वर महासेठ सुडीले बताए ।

विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादव भने आफू भवन भत्काउन होइन, बनाउन प्रधानाध्यापक भएको जवाफ दिएको बताए । ‘म विद्यालय भवन भत्काउन होइन, बनाउन प्रधानाध्यापक भएको हुँ,’ यादवले भने, ‘भवन भत्काएर विद्यार्थीलाई कहाँ राखेर पढाउने ? पुनर्निर्माण तथा भवन व्यवस्थापनका लागि बजेट छैन ।’

उनका अनुसार सात मिटर सडक कालोपत्रे गर्न विद्यालयको भवन भत्काउनुपर्ने थिएन । उनले बिनायोजना, वैकल्पिक व्यवस्थापनबिना गत बैशाख १४ गते राति प्रहरी प्रशासन राखेर वडाध्यक्ष महासेठको नेतृत्वमा एक्कासि डोजर लगाएर विद्यालय भवन भत्काइएको गुनासो गरे । विद्यालय भवन भत्काउँदा प्रहरी प्रशासनको समेत संलग्नता रहेकाले प्रशासनिक निकायमाथि छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

सहमतिबिना विद्यालय भवन भत्काएका विरुद्ध विद्यालयका तर्फबाट प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले सडक कार्यालय मुझेलियाविरुद्ध उच्च अदालत धनुषामा मुद्दा दर्ता गराएका छन् । विद्यालय भवन भत्काउने वडाध्यक्षको आदेशविरुद्ध अदालतले जारी गरेको निषेधाज्ञलाई समेत बेवास्ता गर्दै जबरजस्ती भत्काइएपछि विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका आक्रोसित भएका हुन् । उच्च अदालतले सडक विभागबाट ७ मिटर चौडाइको सडक कालोपत्रे गर्ने योजनाअनुरूप नापी नक्साबमोजिम केन्द्र भागबाट दायाँबायाँ नापजाँच गरी सडक कायम गर्न आदेश जारी गरेको छ ।

जनकपुरको रामानन्द चोकदेखि महोत्तरी सिमाना समसीसम्म २३ किमिमध्ये १७ किमि सडक विस्तार, ग्राभेल र कालोपत्रे गर्न स्वच्छन्द निर्माण सेवा काठमाडांैले ठेक्का पाएको छ । ७ मिटर चौडाइको १७ किलोमिटर सडक विस्तार, ग्राभेल र कालोपत्रे गर्न सडक विभागले कम्पनीसँग १३ करोड ५४ लाखमा २०७२ असार ३१ गते सम्झौता गरेको थियो । सडक आउँदो असार ३० गते पूरा गर्ने सम्झौता छ । जनकपुर–समसी खण्डको बाँकी ६ किमि सडक विस्तार, ग्राभेल कालोपत्रे, विस्तारको निम्ति विस्तृत सर्बेक्षण गरी दोस्रो टेन्डर आहवानका लागि सडक विभाग पठाएको इन्जिनियर बेचन भण्डारीले बताए ।

जग्गा विवादका कारण जनकपुर उपमहानगरपालिका–२१ को कुर्थास्थित रातोलोहारपट्टी पुलदेखि पश्चिम र रामगोपालपुर पेट्रोल पम्पदेखि पूर्व ६ किलोमिटर सडक विस्तार, ग्राभेल र कालोपत्रे बाँकी रहेकाले विभागसित रकम माग गरेको इन्जिनियर भण्डारीले बताए । तर सडक विस्तारका लागि विभागले विद्यालय भवन नभत्काएको उनले बताए । ‘सडक विस्तारका लागि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको हो,’ इन्जिनियर भण्डारीले भने, ‘सडक विभागले विद्यालय भवन भत्काएको होइन, भत्काउने योजना पनि थिएन ।’

वडा कार्यालयले भवन भत्काइदिए पनि पुनर्निर्माण तथा मर्मतसम्भारका लागि रकम विनियोजन गरेको छैन । विद्यालय भवन मर्मतसम्भारका निम्ति रकम विनियोजन गर्न प्रधानाध्यापक यादव वडाध्यक्ष समक्ष नआएको महासेठले बताए । ‘अब भवन भत्कियो, बजेट माग गर्न आए विनियोजन गरिदिन्छु,’ वडाध्यक्ष महासेठले कान्तिपुरसँग भने । पुरानो विद्यालय भए पनि संरक्षण र व्यवस्थापन अभावले जीर्ण राजर्शी जनक माविको कित्ता नं ५३ को पोखरीसहित ३ विघा १५ कठ्ठा ५ धुर क्षेत्रफल जमिन व्यक्तिको नाममा रहेको खुलासा भएको छ ।

वि.सं २०१७ सालमा स्थापित विद्यालयको नाममा रजिष्ट्ेरसन नभए पनि २०२६ सालको नापी नक्सामा विद्यालय भवन कायम छ । तर २०२७ सालमा चार जना व्याक्तिले आफ्नो नाममा दर्ता गराए पनि हालसम्म उपभोग गर्न सकेका थिएनन् ।

विद्यालय परिसरमा विशाल पोखरी पनि छ । ‘पोखरीसमेत एउटै कित्तामा पर्छ, त्यो पनि व्यक्तिकै अंशमा पर्दोरहेछ,’ विद्यालयका प्रधानाध्यापक यादवले भने, ‘विस्तृत अध्ययन गरेपछि सार्वजनिक गर्छाैं ।’